अस्थायी, राहत तथा बालविकास शिक्षकहरू फेरि आन्दोलित

जनकपुरधाम, २ भदौ । जनकपुरधाम उपमहानगरपालिकाका अस्थायी, राहत तथा बालविकास शिक्षकहरू फेरि आन्दोलित भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू फेरि आन्दोलित भएका हुन् । तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरेपनि उपमहानगरले सुनुवाइ नगरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिका तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू धर्नामा बसेका छन् । बालविकासका शिक्षकले मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनुपर्ने आन्दोलनरत शिक्षकको माग छ ।
उपमहानगरपालिकाले वर्षैपिच्छे नयाँनयाँ सम्झौता गरेपनि त्यसलाई कार्यान्वयन गर्नुको साटो शिक्षकहरूलाई अनावश्यक दुःख दिने काम गरेको आरोप लगाइएको छ ।
उनीहरूले लेखापालको मासिक तलब १८ हजार ५ सय र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने मागसमेत गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाभित्रका ५१ वटा सामुदायिक विद्यालयमा १४९ जना बालविकासका शिक्षक कार्यरत छन् ।
यता, उपमहानगरपालिकाले भने नियुक्ति प्रक्रियामा रित नपुगेका शिक्षकहरुसँग आवश्यक कागजात माग गर्दा उनीहरु आन्दोलनमा लागेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


