गर्मीका कारण भोलिदेखि जनकपुरधामका विद्यालयहरु पाँच दिनका लागि बन्द

जनकपुरधाम, १६ जेठ । अत्यधिक गर्मीका कारण जनकपुरधामका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै यहाँस्थित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पाँच दिनसम्मका लागि आकस्मिक गर्मी विदा दिने निर्णय गरेको हो ।
हाल बढ्दो अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ १७ गते बिहिबारदेखि २१ गते सोमबारसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्यबाहेक पठनपाठन बन्द रहने जनकपुरधाम उपमहानगरपालिकाका उपनिर्देशक मेहीलाल यादवले जानकारी दिएका छन् ।
तराई मधेस लगायत जनकपुरधाम क्षेत्रमा परिरहेको प्रचण्ड गर्मी र तातो हावाका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्दै गइरहेकोले अभिभावकको आग्रह बमोजिम वर्षे बिदाबाट कट्टी हुनेगरी पाँच दिनसम्म यहाँका सम्पूर्ण विद्यालयहरु बन्द रहने निजी विद्यालयहरुको छाता संगठन प्याबसन तथा एनप्याबसनले पनि जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


