अनुमतिप्राप्त विद्यालयमा मात्र भर्ना हुन एनप्याब्सनको आग्रह

जनकपुरधाम, ९ बैशाख । निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनले अनुमतिप्राप्त विद्यालयमा मात्र आ-आफ्नो विद्यार्थी भर्ना गर्न आग्रह गरेको छ ।
नयाँ शैक्षिकसत्र सुरू हुनलाग्दा एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुरले आइतबार एक विज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेका हुन् ।
उनले जनकपुरधाम उपमहानगरपालिकामा विगत केही वर्षदेखि चलिरहेको र हालसाल पनि बिनादर्ताको विद्यालय फस्टाउँदै गएको दावी गर्दै विद्यार्थी भर्ना गराउनुपुर्व त्यस्ता विद्यालयहरूको अनुमतिपत्र चेकजाँच अनिवार्य रुपमा गर्न अभिभावकसँग अपिल गरेका छन् ।
अध्यक्ष ठाकुरले नगर कार्यसमितिमा धेरै गुनासोहरू आएको भन्दै अनुमति नै नलिई पठनपाठन गराउँदै आएका शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न सूचित गरेका छन् ।
अनुमति पाएका विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न/गराउन भनिएको छ । केही विद्यालयले अनुमतिबिनै विद्यालय सञ्चालन गरेको पाइएपछि विद्यार्थी, अभिभावकलाई सचेत गराइएको अध्यक्ष ठाकुरले बताए ।
उनले त्यस्ता शिक्षण संस्थालाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग पहलसमेत भइरहेको बताए ।
सम्बन्धित निकायले विद्यालय, कलेज सञ्चालन गर्न स्वीकृति दिए पनि यिनीहरूको नियमित अनुगमन, नियमन गर्न नसकेको भन्दै कडा आलोचना हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


