मधेश प्रदेशका आठ वटै जिल्लामा मेडिकल कलेज स्थापना गरिने : मुख्यमन्त्री यादव

जनकपुरधाम, २० फागुन । मुख्यमन्त्री सरोजकुमार यादवले आठ वटा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन ।
नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आइतवार आयोजित मधेश हेल्थ सम्मिटलाई सम्वोधन गर्नुहुंदै उनले मधेश प्रदेशका आठ वटै जिल्लामा एक एक वटा गरी आठ वटा मेडिकल कलेज स्थापना गर्ने बताएका छन ।
यसअघि सहभागीहरुबाट स्वास्थ्यमा बजेट बढाइनुपर्ने मागउपर प्रतिक्रिया व्यक्त गर्दै उनले स्वास्थ्य राज्यमंत्री भैसकेको हुनाले स्वास्थ्यको महत्व आफूले बुझेको बताएका छन । उनले भने, “प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको छु । आउने दिनमा स्वास्थ्य बजेट बीस पच्चीस प्रतिशतसम्म पुर्याइनेछ । “
मुख्यमंत्री यादवले सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा ’हब’ बनाइने लक्ष्य लिएको पनि घोषणा गरेका छन ।
चिकित्साकर्मीहरुको सुविधा र वृतिविकासका लागि उठेको जिज्ञासालाई उल्लेख गर्दै यसबारे आफू वचनवद्ध रहेको पनि उनले बताए । साथै सेवाको गुणवत्तामा ध्यान दिनपनि उनले चिकित्सकहरुसंग आग्रह गरेका छन । “उपचार राम्रो छ, अलि अलि सुधार पनि भैरहेको छ तर जति सुधार हुनुपर्ने हो हुनसकेको छैन, “ मुख्यमन्त्री यादवले गुनासो पोखेका छन । स्वास्थ्य सेवामा सुधारको अपील गर्दै उनले भने, “डाक्टर भगवानको रुपमा हुन्छन् त्यो हिसाबले कामपनि हुनुपर्यो ।“
स्वास्थ्य तथा जनसंख्या मंत्री वीरेन्द्र प्रसाद सिंह, पूर्व राज्यमन्त्री डा सुरेन्द्र यादव लगायतले पनि बोलेको सम्मिटमा मधेश प्रदेशका विज्ञहरुले स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे आ आफ्नो धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


