माता सरस्वतीलाई समर्पित आजको दिन


-ज्योति झा
फागुन, २ गते । बर्षभर विभिन्न चाडपर्व आउने गर्दछन । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्छ । कुनैपनि पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ । आज बसन्तपञ्चमी । अर्थात ज्ञानकी देवी माता सरस्वती पूजनोत्सवको दिन । यो संसारमा कोही छैनन् जसलाई ज्ञान र विद्याको आवश्यकता नहोस् । ज्ञानको मुल्य पहिला पनि थियाे, अहिले पनि छ। हरेक युगमा गुरुलाई भगवानको दर्जा दिइन्थ्यो र दिइन्छ पनि । कारण उहाँबाट हामी ज्ञान प्राप्त गर्छौं । र, ज्ञानी मनुष्यलाई त संसारले हेर्ने दृष्टिकोण सम्मानिय एवम् गौरवान्वित हुन्छ । ज्ञानबिनाको मनुष्य पशु समान हुन्छ । सही, गलत, उचित, अनुचित, संस्कार र कुविचार यो सबै हाम्रो ज्ञान र विद्याले निर्धारण गर्छ ।
ज्ञान र ज्ञानी भनेको शिक्षा र शिक्षित हुनु हो । ज्ञान भनेको शिक्षा, ज्ञानी भनेको शिक्षित हो । ज्ञान भनेको ज्ञानी बन्ने ढोका हो । माता सरस्वतीलाई हामी विद्या र ज्ञानकी देवी भनेर पुज्छौं। बसन्त पञ्चमीलाई माता सरस्वतीको जन्मदिनको रूपमा मनाइन्छ। आजकै दिन उहाँको उत्पति भएको मानिन्छ। पौराणिक ग्रन्थ अनुसार आजको दिन अर्थात बसन्त पञ्चमीको दिन ब्रम्हाजीको स्तुतीले विद्याकी देवी माता सरस्वती प्रकट भएकी थिइन । बसन्त पञ्चमीलाई लिएर धेरै पौराणिक ग्रन्थहरूमा धेरै कथाहरु छन् । वसन्त पञ्चमीबाट ऋतुराज बसन्तको आगमन पनि हुन्छ । यस दिनबाट तोरीको खेत ढकमक्क हाँस्न थाल्छ र पुरा धर्ती पहेंलो रङ्गले रङ्गमय सजिएर आउँछ । हामी सनातन धर्मको मान्छे र हाम्रो पुर्खा देखि नै सनातन धर्म मानिदै आएको छ । हामी भगवानको पूजापाठमा विश्वास गर्ने आस्तिक मानिस हौं । सनातन धर्ममा माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथि धेरै महत्त्वपूर्ण मानिन्छ। पञ्चमी तिथि ज्ञान र बुद्धिकी देवी माता सरस्वतीलाई समर्पित छ।
मान्यता छ, यस दिन माता सरस्वतीको विधी अनुसार पूजापाठ गर्नाले ज्ञान, बुद्धि र विवेकमा वृद्धि हुन्छ । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो कार्यको प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन ।
त्यसैले त यस दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । साना बालबालिकाको आजको दिन कान छेडिन्छ । हामी हरेक साल सरस्वती पूजा गर्छौं । मूर्ति ल्याउँछौ या फोटोको पूजा गर्छौं। सबैले सरस्वतीको फोटो मूर्ति पक्कै पनि देखेकै होलान् । जसमा श्वेत वस्त्र धारण, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषण सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला एवम् चौथो हात अभ मुद्रामा हुन्छिन र शास्त्रमा पनि उल्लेख गरिएको छ । त्यो सबैको अर्थ छ । उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ ।
सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वाहन हुन् । मयुरलाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो । र, विद्या ज्ञानले शान्ति, स्थिरता, सहज र सरल बनाउँछ । हाम्रो जीवन सुन्दर सुल्झेको हुन्छ । साधारणतया ज्ञान दुई किसिमले प्राप्त हुन्छ गुरुमार्फत वा आफ्नै अनुभवबाट । जुनसुकै तरीकाबाट प्राप्त गरेपनि ज्ञान हासिल गर्नु जरुरी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
