– ज्योति झा 
जनकपुरधाम, १८ पुस । हाम्रो जनजीवनलाई वातावरणले निकै असर पुर्‍याइरहेको हुन्छ । चाहे त्यो राम्राे असर होस् अथवा नराम्रो । जस्तो वातावरणमा बच्चा हुर्कन्छ उसले उस्तै लक्षणहरु आफूभित्र विकसित गर्छ । प्रदूषित वातावरणले जनजीवनलाई अस्वस्थ बनाउँछ ।
हाम्रो भविष्य नै सुनचाँदीले भरेको खजाना हो । आजको लगानी जस्तो छ भोलि त्यस्तै फल हामीले प्राप्त गर्नेछौं । आज वातावरणसँग खेलवाड गर्यौं भने भोली यसको नराम्रो प्रतिकारको सामना पनि हामीले नै गर्नुपर्छ । यदि आज हामी वातावरणप्रति सजग भइदियौं भने यसले भोलिका दिनमा आउने सन्तति र हाम्रो भविष्यलाई सुन्दर, स्वस्थ र निरोगी बनाउँछ ।
बढदो कलयुग अर्थात अर्थयुगमा मानव जीवनमा सबभन्दा बढी त्राहीमाम भनौं वा समस्याको मुख्य जडो वातावरण नै हो । वातावरणले मानव जीवनमा मात्र नभई पशुपंक्षि, प्रकृती र समग्र पृथ्वीमाथि नै ठूलो प्रभाव पारेको छ । र, हामी मानवको हरेक दिन यससँग आमनासामना भइरहेको  हुन्छ ।
सामान्य भाषामा भन्ने हो भने वातावरण भनेको हावापानी, बोटबिरुवा, जंगल र त्यहाँ बस्ने जीवजन्तु मिलेर बनेको जीवनशैलीलाई बुझिन्छ । हामीले एउटा कुरा बुझ्नै पर्छ कि वातावरण भनेको पृथ्वी हो । जबसम्म हामी यो बुझ्दैनौं,  वातावरणलाई जोगाउन सक्दैनौं ।
वर्तमान समयमा पृथ्वीमा रहेका धेरै वनस्पति तथा जीवजन्तुहरु लोप भइसकेका छन् । र, अहिले पनि त्यो क्रम जारी नै छ । यसको प्रमुख कारण हो वातावरण विनाश हुनु । र, यसरी नै वातावरण विनाश भयाे भने हामी मानव जातिको अस्तित्व धरापमा पर्छ ।
हामीलाई निरोगी भएर बाँच्नलाई स्वस्थ वातावरण चाहिन्छ नै । अहिले मानिस धनको पछाडी भाग्छन । जबकि सबभन्दा ठूलो धन त हाम्रो स्वास्थ्य हो । हामी स्वस्थ छौं भने मात्र यो संसार हेर्न, डुल्न, सुविधा प्रयोग गर्न सक्छौं । नत्र रोगी मानिसको जीवन त एउटा कोठाको बिछ्यौनामा नै बित्छ ।
अहिलेको जनजीवन हेर्ने हो भने प्राकृतिक सुन्दरताले शहर सजाउनु भन्दा भौतिक निर्माण तिर बढि ध्यान दिइएको पाइन्छ । भौतिक विकास गर्नु राम्रो हो । तर प्रकृतिको विनाश गरेर कदापि उचित होइन् । भौतिक विकाससँगै प्रकृतिका श्रृंगार जस्तै वनजङ्गल, चराचुरुङ्गी र जीवजन्तुहरुको पनि सम्मान र संरक्षणमा ध्यान दिएर शहरको विकास गर्नु पर्दछ । एउटा व्यक्तिले एउटा बिरुवा रोप्ने र भविष्यमा एउटा व्यक्ति र एउटा रुखको सामन्जस्यतामा विकासको शिखर चढ्यो भने जनजीवन सुन्दर सँगसँगै निकै सहज र स्वस्थकर हुन जान्छ ।
वातावरण प्रदूषणको मुख्य कारण नै मानिस हो । दिनप्रतिदिन भइरहेको बन विनास, बढिरहेको शहरीकरण, उब्जनीको लागि प्रशस्त जग्गाको कमी । शिक्षित भएर अहिले पनि जङ्गल कटान गरेर बस्ती बढाउने क्रम जारी छ । तर हामी बिर्सिएका छौं कि व्यक्तिलाई बाँच्न अक्सिजन चाहिन्छ । त्यसको बारेमा हामी सजग छैनौं । रूख, बोटविरुवा हाम्रो जीवन हो । खेतमा बाली मात्र उब्जाएर हाम्रो आवश्यकता पुरा हुन सक्दैन । हाम्रो जीवन भनेकै अक्सिजन, पानी र अन्न रहेपनि हामीले अक्सिजन तिर पटक्कै ध्यान दिएका छैनौं ।
बाटोमा दिनमा सयौं गाडी गुडिरहेका हुन्छन्  जसले प्रदूषण पनि बढाएकै छ । तर त्यसलाई नियन्त्रण गर्न वरिपरि रुख लगाएको देखिँदैन । प्रदुषणलाई कम गर्न निमका बोटहरु, पिपलका बोटहरू ठाउँठाउँमा लगाउन सकिन्छ । बाटोका दुबैपट्टी अशोकको बोट लगाउन सकिन्छ । जसले गर्दा वातावरण स्वस्थ र सुन्दर पनि देखिन्छ । One colony, one forest को व्यवस्था गर्नु पर्ने देखिन्छ । प्रत्येक व्यक्तिले लिने अक्सिजन प्रकृति माथिको ऋण हो जसलाई हामी सबैले चुकाउनु पर्ने देखिन्छ ।
पहिला हाम्राे पुर्खाको आयू १०० वर्षभन्दा माथि हुन्थ्यो, बाचुन्जेल निरोग जिवन बाच्नुहुन्थ्यो । तर अहिले जन्म लिएको बच्चा  जन्मेदेखि नै कुनै न कुनै रोगको सिकार भइरहेको हुन्छ ।
अहिले त स्कुल भन्दा बढि भिड अस्पतालमा हुन्छ । मधेश प्रदेशमा गर्मीले निकै सताउँछ जसको मुख्य कारण वनजङ्गल नहुनु हो । गाउँको तुलनामा शहरमा निकै गर्मी हुन्छ । यसमाथी अहिले पनि हामीले ध्यान दिएनौं भने भोली समस्या झन जटिल हुनसक्छ ।
अहिले प्लास्टिकका थैलाहरु प्रयोगमा आइराखेका छन् । कागजका थैलाहरु बनाएर प्रयोगमा ल्याउँदा प्रदूषणमा केहि हदसम्म न्यूनीकरण हुन्थ्यो होला । प्लास्टिकका थैलाहरुले जग्गाका उर्वरा शक्तिमा ह्रास ल्याउँछ । यसलाई कुहिन वर्षौ लाग्ने हुनाले यसले वातावरणलाई प्रदुषित गर्न ठूलो भूमिका खेल्दछ ।
त्यति मात्र कहाँ हो र मधेश प्रदेशको राजधानी हो जनकपुरधाम । धार्मिक स्थल हो । यहाँ न त शिक्षित मान्छेको कमि छ न त संघसंस्थाको । झन च्याउ उम्रे जस्तो अभियानीहरु छन् । तर पनि लामखुट्टेको आक्रमणले दिनहुँ यहाँका जनताको सामना हुन्छ । तर यसलाई निर्मूल कसरी गर्ने विषयमा यहाँका सरोकारवाला निकाय अन्यौलमा परेका छन् । धेरै भयाे भने नगरपालिकाले कहिलेकाहीं शुभ मुहर्त हेरेर किटनाशकको प्रयोग गरी लामखुट्टे मार्ने औषधि छर्किदिन्छ । जबकि लामखुट्टे  उत्पादन गर्ने स्रोतलाई नै सखाप पार्यो भने राम्राे हुन्थ्यो कि ?
खुल्ला नालाहरुलाई व्यवस्थित गरेर, जमेका फोहोर पानीलाई व्यवस्थित गरेर, खाल्डाखुल्डी पुरेर केहि हदसम्म यो समस्याबाट निजात मिल्थ्यो । ठाँउठाँउमा वृक्षारोपण गरेर त्यसलाई निगरानीमा राखी हुर्काइयो भने सुन्दर सहर बनाउन सकिन्थ्यो । यहाँ वृक्षारोपण त हुन्छ तर त्यो फोटो सेसनमा सिमित भइदिन्छ । रोपेको बोट हुर्कियो कि मर्यो त्यसलाई निगरानी गर्ने कोही हुँदैनन् ।
विदेशमा गरेका प्रयासहरू जनता र सरकारका समझदारीमा हुन्छन् । र, त्यहाँ निकै विकासका कामहरू हुन्छन । मधेशमा पनि ति सबै विकासहरु हुन सक्छ । यसका लागि सरकारले सहयोग गर्नु पर्छ भने जनता सजग र क्रियाशील हुनु पर्छ । किनभने एक हातले ताली बज्दैन । त्यस्तै कुनै एकले असहयोगको भावना देखायो भने काम सफल हुन निकै गार्हो हुन्छ ।
एउटा स्वस्थ्य वातावरणले स्वस्थ समाजको सिर्जना गर्छ । एउटा स्वस्थ दिमागले हजारौं स्वस्थ दिमाग दिन सक्छ भने सबै स्वस्थ भयाे भने सम्पूर्ण मधेशमा सुन्दर भविष्यको कल्पना गर्न सकिन्छ । आज रोपेको एउटा विरुवा भोली एउटा घर निर्माणमा सहयोग गर्छ । जीवनभर त्यो बोटले स्वस्थ हावा अथवा अक्सिजन दिन्छ । पात पतिङर गाई वस्तुले खान्छ । झरेका पातहरुको मल बन्छ र धर्तीको उर्वराशक्ति बढ्छ । यी एउटा विरुवाको यति धेरै लाभ छ भनेर बुझ्दा बुझ्दै पनि हाम्रो समाजलाई बिरुवा रहित समाजकै श्रेणीमा राखियो भने भविष्यमा अक्सिजनका च्यालेन्ज भोग्न तयार हुनुपर्छ ।
हाम्राे पुस्ताले जतिसम्म हामीलाई स्वच्छ हावा र वातावरण हस्तान्तरण गर्नुभयो सायदै हामीले हाम्राे आउने सन्ततिलाई त्यति पनि दिन सक्छौं  । र, भोलिका दिनमा जन्म लिने हाम्राे सन्तति रोगी, कमजोर, श्वासप्रस्वासको समस्या लिएर नै यो संसारमा आँखा खोल्नेछन । र, यस्ताे अवस्थामा देशको विकास गर्नु सपना हुनेछ । त्यही भएर आफ्नो जिवनको केहि घण्टा समाजकाे कामका लागी वलिदान दिइयो भने केहि न केहि राम्रा कामहरू पक्कै हुन्छ ।
समाजले पनि आफ्नो लगानीमा बाटोको दुवैतिर फलफूलको बोट लगाउनु पर्छ । बरू स-साना पार्कहरुको निर्माण कार्यहरु पनि गर्न सक्छन । सरकारले यसमा पूर्ण सहयोग गर्नु पर्छ ।
स्वस्थ्य हावामा सास फेर्ने व्यक्तिको आयु अरूको तुलनामा बढि हुन्छ । व्यक्ति निरोग हुन्छ । अस्पतालमा तिर्ने विल भन्दा सामाजमा समय र अलि पैसा खर्च गरियो भने कतिको जीवन स्वस्थ, निरोग, सुन्दर, सरल र सफल बनाउन सकिन्छ । तसर्थ सरकार र जनताले यस विषयमा पहल गर्नै पर्ने देखिन्छ । पछि पछुतो गर्नु भन्दा अहिले नै छिटोछरितो प्रयास गर्नु राम्राे हुन्छ । सबैले स्वास्थ्यप्रति चासो र चिन्ता लिनुपर्छ । यसले भोलीका दिन हाम्रो र हाम्रो आउने सन्ततिका लागि राम्राे हुनेछ ।