जनकपुरधाम, १७ पुस । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखाका कर्मचारीलाई कारवाही नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

शिक्षा शाखाका कर्मचारी मेहिलाल यादव र अञ्जु पाण्डेयले मंगलवार हिमाली इङ्गलिश बोर्डिङ्ग स्कूलका संस्थापक दिपेन्द्र साहसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै उनीहरूमाथी करबाहीको माग गरिएको हो ।

यादव र पाण्डेयले उपमहानगरपालिकाको कार्यालयमै अपशब्द प्रयोग गरेको प्याबसन र एनप्याबसनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा “शिक्षा शाखाका कर्मचारी यादव र पाण्डेयले सबै बोर्डिङ्ग स्कूलहरू इलिगल हुन, सबैलाई जेलमा कोच्छु’ जस्ता अपशब्द प्रयोग गरेकोले यस घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।”

कुनैपनि कर्मचारीले सेवाग्राहीसँग गरेको व्यवहार अशोभनीय र अर्मयादीत छ । यस्ता व्यवहारप्रति घोर भत्सर्ना गरिएको भन्दै यस्ता व्यवहार गर्नेलाई कारवाही गर्न माग गरिएको छ । मागप्रति उपमहानगरपालिका गम्भीर नदेखिए आन्दोलन गर्न बाध्य हुने जानकारी विज्ञप्ती मार्फत दिइएको छ ।

“कुनैपनि कर्मचारीले सेवाग्राहीसँग यसरी गरेको व्यवहार अशोभनीय र अर्मयादीत छ । यस्तो व्यवहारको हामी घोर भत्सर्ना गर्दछौं र यस्ता कार्य गर्ने कर्मचारीलाई बुधबारसम्म कारवाही गर्न उपमहानगरपालिका समक्ष जोडदार माग गर्दछौं । हाम्रो मागप्रति उपमहानगर गम्भीर नदेखिए हामी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं”, विज्ञप्तीमा लेखिएको छ ।