–ज्योति झा
जनकपुरधाम, ४ मंसिर ।
मलाई अचम्म लाग्छ मेरो देशको न्याय प्रणाली हेरेर । म चकित छु मेरो समाजको सोचाइ हेरेर । म विचलित छु बेइमान र भ्रष्टाचारीलाई पाएर । यहाँ जोसँग पैसा छ उसँग प्रहरी, पत्रकार, नेता र न्यायालय छ । जोसँग पैसा छैन उसको जीवन रित्तो । उसको लागि न्यायालय र पावर केही छैन । अनि कहाँबाट आउँछ बराबरी र समानता ? के काम त्यस्तो ज्ञान र शिक्षाको ? कुन अस्तित्व मानवताको ? धनि दिन प्रतिदिन धनि हुँदैछ । गरिब खान नपाएर मर्दैछ ।

स्वास्थ्य, शिक्षामा समान पहुँचको भाषण एउटा थेगोमा सीमित छ । देशको न्याय प्रणाली जनताको लागी नभएर पावर र पहुँचवालाको हितमा देख्न सकिन्छ । यहाँ यस्ता धेरै छन् जो न्यायबाट वञ्चित छन् । जस्ले महिनौं सडक आन्दोलन उसको हात रिक्त छन् । जसले न्याय पाउन दिनरात मिहिनेत गरे । खुन पसिना एक गरे उसको पीडा दुःख बुझ्ने कोही छैन । यहाँ न्यायालय पहुँचको, पत्रकार पनि पैसाको भइदिँदा न्यायको आश र न्यायालयमाथि विश्वास नगर्ने धेरै उदाहरणहरु छन् । आजसम्म पहुँचवाला, पैसावाला वा यसरी भनौं नेता, मन्त्रीका छोरालाई सरकारी स्कूलमा पढेको हेर्नु भएको छ ? उनीहरु बरू विदेश पढन जान्छन् । यहाँसम्म कि सरकारी स्कुलमा पढाउने शिक्षक शिक्षिकाका पनि सन्तान बोर्डिङ स्कूलमा हुन्छ । आखिर किन होला ?

यहाँ जन्म लिएपछि जुन सुइ लाग्छ त्यसमा पनि हामी जनताले ट्याक्स तिर्नुपर्छ । र, मर्ने समयमा लाग्ने सुइमा पनि टयाक्स । सुविधाको कुरा गर्ने हो भने जिरोबट्टा सन्नाटा । महंगाई दिन प्रतिदिन चरम सिमामा, शिक्षामा पनि भ्रष्टचारी, स्वास्थ्यसँग खेलवाड । धनीलाई त अप्ठ्यारो नपरे पनि गरिब हरेक दिन मृत्युलाई पर्खेर बसेको छ । कोही लड्छ, कोही थाकेर मर्छ । तर सरकार र सरकारी निकाय, सरोकारवाला पैसा छाप्न व्यस्त । यहाँसम्म कि कुनै देशमा जब भ्याक्सिन निकालिन्छ त्यसको ट्राइल नेपाली र त्यसमा पनि नेपालको गरीब जनतामाथि गरिन्छ । अब बुझ्न सक्नुहुन्छ के छ अवस्था ।

हामी नेपालीसँग ठूलो हतियार छ हाम्रो हरीयो वन । नेपाल गरिब मुलुक हो तर वनमा हामी धनी छौं । हरियो वन नेपालको धन’ हो । नेपाल विकास उन्मुख मुलुक हो । तरपनि वनमा भने धनी छ । नेपालमा ठूला–ठूला जंगलहरु छन् । जंगलहरुको कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिन्छ । तर हामी नेपालमा भएको जंगलको सदुपयोग गर्न सकेका छैनौँ । गर्न सकेमा नेपाल धनी र नेपाली सुखी हुन् सक्छन । वनबाट थुप्रै फाइदाहरू हुन्छ । सिँचाइको लागि वर्षा चाहिन्छ । र वन भए बर्षा हुन्छ । यसले बाढी र पहिरोलाई रोक्न सक्छ । वनबाट अनेकौँ जडीबुटीहरू निस्कने गर्छ । वनबाट नै पशुहरूलाई घाँस प्राप्त हुन्छ । हामीले चाहेमा वनबाट धेरै फायदा उठाउन सक्छौं । तर उक्त महत्वलाई बुझ्दा बुझ्दै पनि व्यक्तिगत फायदका लागि केही पैसाको लोभ र बढ्दो जनसंख्याको कारणले दिन प्रतिदिन जंगलको विनाश भइरहेको पाइन्छ । झन देशमा प्रजातन्त्र आएपछि त जंगल मास्ने क्रममा बाढी नै आएको र विनाश भइरहेको देख्न सकिन्छ ।

नेपालसँग प्रसस्त बिजुली छ । यस्तो वातावरण छ कि बिजुली बनाएर बेच्न सकिन्छ । र झन ग्रीन हाइड्रोजन बनाउन सफल भयौं भने नेपाल शक्तिशाली देशमा गन्ति हुन्छ । तर यहाँका केहि भ्रष्ट, बेइमान नेताहरु जसको हाथमा देशको स्टेरिङ्ग छ । उनीहरुलाई आफ्नो स्वार्थ भन्दा माथी केही नजर नै आउँदैनन् । र पो देशको यस्तो अवस्था छ । हाम्रो देशमा रोजगारीको कमि छैन । तर इमान्दार, देश जनताको हितमा सोच्ने, क्षमतावान नेतृत्वको कमी छ । जुन कारणले गर्दा हाम्रो युवापिढी आफ्नो देश छोडेर अरूको देशमा काम गर्दैछन् । तर, उनले के पाउँछ ? परिवारदेखि टाढा अरुको सहारा, एक्लोपन, दुःख पीडा बाहेक ।

युवा बाहिर गए भने देशले पाउँछ रेमिट्यान्स जसले चल्दैछ देश । तर पनि त्यो यूवाको लागी के सोच्दैछ सरकारले ? उसले कमाएको पैसाले उसको परिवार देश त चल्छ तर उ न बाचुञ्जेल केही पाउँछ न मरेपछि । त्यसमा पनि केही नेता, मन्त्री भ्रष्टाचारको सीमा पार गर्दिन्छ । धेरै त यस्ता छन् जो कतियौं पीडा हुँदा न्याय माग्न नै आउँदैनन् । थाहा हुन्छ । भएको पैसा पनि जान्छ । तर न्याय पाइँदैन । हाम्रो समाज सही गलत या त छुट्याउन सक्दैन या त चाप्लुसीमा मग्न भएर बाँच्न चाहन्छ ।

अहिले त सामाजिक सञ्जालमा जसको जति नाम छ उ त्यति महान रे । तर उसँग कति ज्ञानको भण्डार छ मतलब छैन । जो पैसावाला छ उसले कसैले एक छाक अन्न पनि दिने होइन कसैलाई । तर उसको अगाडि सबै नतमस्तक । तर एउटा गरिबले आफ्नो धारणा राख्दा पनि चुप गर्न लगाउने । हामीले आफ्नो शक्ति चिनेकै छैनौं । पहिले समाज, जनता अनि पो कोही महामहिम । किनभने नेता बनाउने हामी । न्यायालय हाम्रै लागी । शिक्षा सबैको लागी यो बुझ्नु आवश्यक छ । मबाट फराकिलो हुनु आवश्यक छ । र हामी बुझ्नु जरूरी छ । समाजमा एकता, समानता, शिक्षा, मानवता आयो भने म त भन्छु देश नै फेरिन्छ । हाम्रो देश हाम्रो गौरव हो । यहाँ मान्छेलाई फेर्नु । भ्रष्टाचारीलाई जरैबाट उखाल्नु । निर्दोषलाई साथ दिनु र आफ्नो देशमा रोजगारीको व्यवस्था गर्नु आवश्यक छ ।