धन्य पतिदेव..!

–बिष्णु भट्टराई
‘श्रीमान श्रीमती एकै रथका दुई पांग्रा हुन’ यो भनाई कुनै नौलो अवश्य होइन । तर, भोगाईमा यसको गहिराई कुनै समुन्द्रको गहिराईसँग तुलना गर्न सकिंदैन । वैवाहिक जीवन सुखमय र खुशी रहनका लागि श्रीमान/श्रीमती एक अर्कामा इमान्दार, वफादार, सहयोगी र मायालु हुनुपर्दछ । श्रीमती वा पारिवारिक जीवन खुशी र सुखी बनाउन श्रीमानको महत्वपुर्ण भूमिका रहन्छ ।
श्रीमानको सफलतामा श्रीमतीको महत्वपुर्ण भूमिका रहन्छ । त्यस्तै श्रीमती सफल हुनुमा/बनाउनुमा पनि श्रीमानको महत्वपुर्ण भूमिका रहन्छ । हिजोआज श्रीमान् श्रीमती बरावर हिस्सामा शिक्षित, कामकाजी तथा व्यस्त रहन्छन् । महिलाका लागि वैवाहिक जीवन थप एक चुनौति पनि हो । परिवार, बालबच्चा, आफ्नो करियर, आफ्ना चाहना, खुशी इत्यादी प्राप्त गर्नुमा श्रीमानको महत्वपुर्ण योगदान रहन्छ ।
वर्तमान मोर्डन, स्वतन्त्र र आत्मनिर्भर जमानामा जीवनसाथी आफैं रोज्ने र खोज्ने ट्रेन्ड नै बसिसकेको समयमा एक “मागी विवाह” सम्वन्ध निभाउन जाने स्वर्ग समान बन्छ भन्दा खासै पाच्य होला जस्नो त लाग्दैन तर, जिवनमा श्रीमान र श्रीमतीबिच एकअर्कामा सम्मान र साथ कति महत्वपुर्ण हुन्छ भन्ने कुरा शब्दबाटै खोल्न मन लाग्यो ।
मागी विवाह उमेरमा केही अन्तरका साथै कहिल्यै नदेखेको र नभेटेको केटासँग एकैचोटी बुबाआमाले आफन्तको जिम्मा लगाएको भरमा वैवाहिक जिवनको सुरुवात कसलाई पो खास लाग्ला? विवाहको दिन मण्डपमा बस्दा म यति खुशी र हाम्रो वैवाहिक जीवन यस्तो हुन्छ भन्ने कल्पनासम्म गरेको थिइन, विवाह मण्डपमा नै वहाँले मलाइ “तँ’’ भनेर सम्बोधन गर्नुभएको थियो । तर, वहाँ देख्दा र भोग्दामा पृथक हुनुहुँदोरहेछ भन्ने आजभोली महशुस गर्दैछु ।
वहाँ र म पृथक नै थियौं, म देखेको प्याच्च बोल्ने, वहाँ देखेर, भोगेर र परेर पनि नबोल्ने । मेरो माइतिमा एकल परिवार सबैको एकै बोली, वहाँको परिवारमा छुट्टै व्यवहार भिन्न मतभिन्नता । त्यसैले सुरुवाती दिनमा हामीबिच एकअर्कालाई बुझ्न समय नलागेको होइन, तर विस्तारै वहाँले मलाइ र मैले वहाँलाई बुझ्दै गयौं । मलाई मेरो क्षमता अनुसार आत्मनिर्भर बनाउने वहाँको चाहनाले आफैले धेरै दुःख पाउनु भएको छ । त्यो वहाँको गुण मैले कहिल्यै विर्सन चाहन्न र सक्दिन पनि ।
वहाँले मलाई पढाउन खोज्दा छोरा हुर्काउनुको कष्टदेखि लिएर पारिवारिक व्यवहारको कठिनाइ त थियो नै ‘स्वास्नि मत्यायो’ जस्ता दोषारोपण झेल्दा झेल्दैपनि गन्तव्यमा पुग्न पाइला चालिरहनुभएको थियो । आर्थिक संकट पारिवारिक दोषारोपणदेखि व्यवहारिक कठिनाईमा हामी दुवैले एकअर्कामा आँसु लुकाएर बाहिर खुशी हुन सिक्यौं ।
पाइला चाल्दा चाल्दैपनि गन्तव्यमा नपुग्नुको पीडा ममा छँदै थियो, वहाँमा पनि श्रीमतीलाई केही बनाउछु भन्ने मृगतृष्णा जागिरहेकै थियो । यस बिचमा हामीले घरप्रतिका जिम्मेवारीहरु आफूले सकेसम्म पुरा गर्दै पाइला घिसार्दै गयौँ । हाल म निजामती सेवा अन्तर्गत ‘शाखा अधिकृत’ पदमा कार्यरत छु । यो पनि वहाँको मप्रतिको देन नै हो । यसरी श्रीमतीको लागि आफ्नो समय बिर्सेर इमान्दारिताका साथ सम्बन्धको वफादार भूमिका निभाइरहनु भएका मेरा पतिदेवलाई म नमन गर्न चाहन्छु । सम्बन्ध यसरी यहाँसम्म ल्याउनुमा मेरो भूमिका त छँदैछ तर श्रीमानको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
सम्वन्धविच्छेद फेसनकै रुपमा रहेको अहिलेको समयमा श्रीमानकै कमजोरीका कारण सम्वन्धविच्छेदका घटना बढिरहेको समयमा अदालतमा बसेर सम्वन्धविच्छेदका मिसिल पल्टाइरहँदा आफ्ना श्रीमानलाई भन्न मन लाग्छ, ‘धन्य पतिदेव’ । यदि यहाँले पनि मलाई कदममा कदम नमिलाई जिवनलाई छताछुल्ल पारिदिएको भए म पनि कुनै जिल्ला अदालतमा यस्तै सम्वन्धविच्छेदको मिसिल काँखिमा च्यापेर सम्बन्धलाई विच्छेद गर्न अदालतका भर्याङ चढिरहेकी हुनेथिएँ । जय पतिदेव..!
लेखिका भट्टराई शाखा अधिकृत हुन् ।

