जनकपुरधाम, १९ पुस । शीतलहरका कारण मधेस प्रदेशका सामुदायिक विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् ।

अत्यधिक जाडो बढेपछि प्रदेशका आठवटै जिल्लाका स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुमा धमाधम जाडो बिदा दिन थालेका हुन् ।

मधेस प्रदेशमा अहिलेसम्म धनुषा, महोत्तरी, सिरहा, बारा र पर्सा जिल्लाका सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् ।

विद्यालय बन्द गर्नेहरुमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका, मिथिला बिहारी नगरपालिका र विदेह नगरपालिका गरी पाँचवटा पालिकाहरु रहेका छन् ।

त्यस्तै, महोत्तरीको औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनमा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका, भंगहा नगरपालिका र मट्टिहानी नगरपालिका गरी ९ पालिकाका सामुदायिक विद्यालयहरु पनि बन्द गरिएका छन् ।

उता, सिरहाको मिर्चैया नगरपालिका र सिरहा नगरपालिका, पर्साको वीरगंज महानगरपालिका तथा बाराको कलैया उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरु पनि बन्द गरिएका छन् ।

अधिकांश विद्यालयहरुमा पुस २२ गतेसम्म जाडो बिदा दिइएको छ भने महोत्तरीको पिपरा गाउँपालिका र जलेश्वर नगरपालिकामा २६ गतेसम्मका लागि बिदा दिइएको छ ।

बाक्लो हुस्सुलागेर अत्यधिक चिसो बढेपछि अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् ।