लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई ५ रनले हरायो

काठमाडौं, १९ पुस । नेपाल टी–२० प्रिमियर लिग क्रिकेटअन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई ५ रनले हराएको छ ।
लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १७३ रनमात्रै बनाउन सक्यो । जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ तथा ट्रिभन ग्रिफिथ, सन्दीप जोरा र शराफउद्दिन अशरफले २६/२६ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले दुई/दुई विकेट लिए ।
यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनायो । लुम्बिनीका लागि हरमीत सिंहले ७३ र लाहिरु मलिन्थाले ३३ रन बनाए । जनकपुरका शराफउद्दिन अशरफले ३ विकेट लिए ।
यो जितसँगै लुम्बिनी ८ खेलमा १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


