काठमाडौं, १९ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै सदस्यहरूलाई पार्टीको आधिकारिक निर्णय र नीति विपरीत सार्वजनिक रुपमा पार्टीको आलोचना तथा विरोध नगर्न निर्देशन दिएका छन् ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले असन्तुष्टि भए बैठकमै छलफल गर्न पनि आग्रह गरेका थिए । मंगलबारको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

पछिल्लो समय मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री लगायतका नेताहरूले निर्वाचनको परिणाम आएपछि सार्वजनिक रुपमा पार्टीको आलोचना गरेका थिए ।

बैठकमा अध्यक्ष नेपालले नेता कार्यकर्तालाई पार्टीको नीति र निर्णय विपरीत अभिव्यक्ति नदिन निर्देशन दिएको स्थायी कमिटी सदस्य मेटमणि चौधरीले जानकारी दिए । आफ्नै अध्यक्षको बदख्वाइँ गरेको भन्दै अध्यक्ष नेपाल आक्रोशित बनेका थिए ।

नेकपा एकीकृत समाजवादी सरकार गठनको प्रक्रियाबाट बाहिरिएपछि एकीकृत समाजवादीका नेताहरूले अध्यक्षको आलोचना गर्न थालेका छन् ।

साथै सरकारमा सामेल हुने विषयमा कतिपय नेताहरूले पार्टीको निर्णय विपरीत अभिव्यक्ति दिएका छन् ।