काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनको विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

सोमबार बिहान सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरेका हुन् ।

‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरूबीच छलफल गर्छौँ । र, हामी एउटा निष्कर्षमा पुगौँला,’ छलफलमा प्रचण्डले भने ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत पनि उपस्थित थिए । बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरूले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।