काठमाडौं, १७ पुस । सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जानका लागि सर्त राखेको छ । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले पुस मसान्तमा विश्वासको मत लिने तयारी गर्दै गर्दा राप्रपाले पृथ्वी जयन्तिलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको हो ।

राप्रपाले पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाएर सार्वजनिक बिदा दिनुपर्ने सर्त अघि सारेको हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन पुस २७ मा बिदा दिनुपर्ने राप्रपाको प्रमुखमध्ये एउटा सर्त रहेको छ ।

पुस २७ को राष्ट्रिय एकता दिवस ०६३ सालमा खारेज गरिएको थियो । वर्तमान सरकारलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । तीमध्ये एमाले, माओवादी, रास्वपा र जनमत पार्टी सरकारमा सहभागी भइसकेका छन् ।

एमाले र माओवादीले राप्रपा र नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् । नागरिक उन्मुक्तिले पार्टीका सल्लाहकार रेशम चौधरीलगायतको रिहाइको माग गरेको छ भने एकीकृत समाजवादीमा सरकारमा जाने विषयमा नेताहरूबीच मतभिन्नता छ ।

सरकार बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुलुकको ४४ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त भएका दाहालले पुस २९मा विश्वासको मत लिँदै छन् ।

पुस २५ गतेका लागि संसद्को अधिवेशन आह्वान भइसकेको छ ।