जनकपुर रोयल्सले विराटनगर सुपर किङ्गसलाई ४९ रनले हरायो

काठमाडौं, १६ पुस । नेपाल टी–२० लिगअन्तर्गत शनिबार भएको खेलमा जनकपुर रोयल्स ४९ रनले विजयी भएको छ ।
समिउल्लाह शिनवारीको अविजित ७८ रनको पारीले जनकुपरले विराटनगर सुपर किङ्गसलाई ४९ रनले पराजित गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८९ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।
विराटनगरका लागि ओपनर गौरान्सु शर्माले ३३ रनको योगदान गरे । त्यस्तै, हुसेन तलत ४२ रन जोडेर पेभेलियन फर्किँदा प्रदीप ऐरी ३६ रनमा अविजित रहे ।
जनकपुरका लागि शिनवारीले सर्वाधिक तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।
पहिलो इनिङमा जनकपुरका लागि शिनवारीले ४० बलको सामना गर्दै ६ चौका र ६ छक्कासहित अविजित ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै, चाडविक वाल्टनले २९ र कप्तान ट्रेभोन ग्रिफिथले १९ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।
बलिङतर्फ विराटनगरका सूर्य तामाङ र हुसेन तलतले दुई–दुई तथा नन्दन यादवले एक विकेट लिए ।
जनकपुर ५ खेलबाट ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । यस्तै, ५ खेल खेलेका विराटनगर ४ अंकसहित चौथो स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


