काठमाडौं, १६ पुस । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले गरि दुई राजनीतिक दलहरुले दाबी गरिरहेको अवस्थामा पछिल्लो समय राप्रपाको दाबीले हलचल ल्याएको छ ।

केन्द्रले सरकारमा नजाने बताइरहँदा चुप बसिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रकै निर्णय अनुसार बागमतीको मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेको छ ।

बागमती प्रदेशको सत्ताको चावी आफ्नो पोल्टामा आएसँगै मुख्यमन्त्रीमा राप्रपाले दाबी गरेको हो । केन्द्रमा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा सत्ताको चावी राप्रपाको पोल्टामा पुगेको छ ।

राप्रपाले ७ प्रदेश मध्ये एउटा प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । जसकारण अन्य प्रदेशमा भन्दा धेरै १३ सिट जितेको राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए ।

चुनावी कार्यक्रममा नै प्रदेश खारेजीको मुख्य एजेण्डा लिएको राप्रपाले सरकारमा गएर मात्रै प्रदेश खारेजीको मुद्दा अघि बढाउने उनले बताए ।