एजेन्सी, १५ पुस । भारतीय क्रिकेटर ऋषभ पन्त सवार कार दुर्घटनामा परेको छ । शुक्रबार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरमा ठोक्किँदा ऋषभ सवार कार दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका पन्तको अवस्था सामान्य रहेको छ ।

देहरादुन म्याक्स अस्पतालका डा. आशिष याज्ञिकले ऋषभ पन्तको चोटबारे भने, ‘ऋषभ पन्त स्थिर छन् । अर्थोपेडिक सर्जन र प्लास्टिक सर्जन सहित डाक्टरहरूको टोलीले उनको चोट जाँच गरिरहेको छ। अनुसन्धान र मूल्याङ्कन प्रक्रिया पूरा भएपछि मात्रै थप उपचारको दिशा के हुन्छ थाहा हुन्छ । यसको जानकारी मेडिकल बुलेटिन मार्फत दिइनेछ ।’

यसअघि हरिद्वारका एसएसपी अजय सिंहले बीबीसीलाई भने, ‘दुर्घटना बिहान ५.३०–६ बजेको बीचमा भएको थियो । ऋषभ पन्तको कार डिभाइडरमा ठोक्कियो। अगाडिको सिसा फुटेर उनी बाहिर निस्किए। कारमा आगो लाग्यो । प्राथमिक उपचारपछि लाइफ सपोर्टसहितको एम्बुलेन्स बोलाइयो र देहरादुनको म्याक्स अस्पतालमा पठाइयो ।’

रिपोर्टका अनुसार पन्त आफैंले मर्सिडिज कार चलाउँदै आएका थिए । पूर्व क्रिकेटर तथा राष्ट्रिय क्रिकेट एकेडेमीका प्रमुख भीभीएस लक्ष्मणले ऋषभ ठीक रहेको र कुनै गम्भीर खतरा नभएको ट्विट गरेका छन् । लक्ष्मणले ऋषभको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।