काठमाडौं, १४ पुस । नेपाल टी–२० लिगमा बिहीबार भएको खेलमा जनकपुर रोयल्सले फार वेष्ट युनाइटेडमाथि ८ विकेटको शानदार जित हासिल गरेको छ ।

सन्दीप जोरा र चाविक वाल्टनले तेस्रो विकेटका लागि अविजित शतकीय साझेदारी गरेपछि जनकपुरले जित निकालेको हो ।

त्रिवि मैदानमा १७० रनको लक्ष्य पछ्याएको जनकपुरलाई १० बल अगावै जित दिलाउन सन्दीप र चाडविकले अविजित अर्धशतकीय योगदान गरे ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका चाडविकले ४० बलमा २ चौका र ५ छक्कासहित ६९ तथा चौथो नम्बरमा ब्याटिङ गरेका सन्दीपले ५४ बलमा ३ चौका र ५ छक्कासहित ७७ रनको योगदान गरे ।

ओपनरहरु पवन सर्राफ १२ र कप्तान ट्रेभोन ग्रिफिथ ६ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा जनकपुरले ३ ओभरमा २० रन बनाएको थियो । त्यसपछि सन्दीप र चाडविकले तेस्रो विकेटका लागि १५१ रनको अविजित साझेदारी गरी टिमलाई जित दिलाए ।

चार खेलमा तेस्रो जितसँगै ६ अंक बनाएको जनकपुर लिगको दोस्रो स्थानमा उक्लिएको छ । अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको फारवेष्टको भने यो तेस्रो हार हो ।

यसअघि टस हारेर ब्याटिङ गरेको फार वेष्टले करण केसीको विष्फोट पारी सहयोगमा ६ विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।

आठौं नम्बरमा ब्याटिङ गरेका करणले १७ बलमा ३ चौका र ४ छक्कासहित अविजित ४६ रन बनाए । उनले सातौं विकेटका लागि भीम सार्कीसँग मिलेर ५८ रनको अविजित साझेदारी गरे । सार्कीले ३० बलमा अविजित ३६ रन बनाए ।

फार वेष्टका लागि देव खनालले २२, कप्तान हस्मतुल्लाह साहिदीले १९, विनोद भण्डारीले १२ र हरिशंकर साहले १३ रन बनाए । बलिङमा जनकपुरका ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।