काठमाडौं, १४ पुस । नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

महान्यायाधिवक्ता पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका–४ प्यूठानमा भएको थियो । उनी २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न छन् ।

पोखरेलले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेका थिए । उनले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सको सामाजिक अध्ययन संस्थानबाट २००७ बाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गरेका थिए ।

उनले वातावरणीय कानुनमा स्नातक गरेका छन् । कानुनी अभ्यास र परामर्शका अतिरिक्त डा. पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न छन् । उनले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गरेका थिए ।

डा. पोखरेलले व्यवस्थापिका–संसद्का तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श पनि सेवा प्रदान गर्दै आएका छन् ।