रूपन्देही, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा आशिषकुमार चौधरी चयन भएका छन् ।

काठमाडौंमा बसेको संसदीय दलको बैठकले रूपन्देही–१ (ख) बाट निर्वाचित चौधरीलाई दलको नेता छानेको हो ।

चौधरीका अनुसार दलको प्रमुख सचेतक र सचेतकको निर्णय हुन भने बाँकी छ । राप्रपाबाट प्रत्यक्षमा चौधरीसहित कपिलवस्तुबाट जानकीप्रसाद यादव तथा समानुपातिकतर्फ बाँकेबाट मिनाकुमारी श्रेष्ठ र गुल्मीबाट मेनुका खाण ठकुरी विजयी भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीले रूपन्देही–३ (क) बाट विजयी भएका सन्तोष पाण्डेलाई दलको नेता छानेको छ । प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले भने नेता चयन गर्न बाँकी छ ।