एजेन्सी, १३ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको स्वास्थ्य बिग्रिएको छ । मोदी आमालाई भेट्न अहमदाबाद पुगेका छन् । उनीसँगै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र केही राज्यमन्त्री पनि छन् ।

मंगलबार राति अचानक स्वास्थ्य बिग्रिएपछि हिराबेनलाई अहमदाबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ्यको निरन्तर अनुगमन गरिरहेको छ ।

अस्पतालले बुधबार दिउँसो एक हेल्थ बुलेटिन जारी गर्दै हिराबेनको स्वास्थ्य अहिले स्थिर रहेको जनाएको छ । हिराबेनले गत जुनमा आफ्नो १०० औँ जन्मदिन मनाएकी थिन् । त्यसबेला पनि प्रधानमन्त्री मोदी उनलाई भेट्न आएका थिए ।

कांग्रेस नेता राहुल गान्धीले हिराबेनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।राहुलले लेखेका छन्, ’आमा र छोराको माया अनन्त र अमूल्य हुन्छ । मोदीजी, यो कठिन समयमा मेरो माया र समर्थन तपाईंसँग छ । आशा छ तपाईंकी आमा छिट्टै निको हुनुहोस् ।’