काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

‘समसामयिक विषयवस्तुमाथि छलफल भयो । भर्खरै सरकार गठन भएको छ ।त्यसलाई अब अगाडि बढाउनुपर्छ भन्ने कुरा भयो,’ प्रचण्डसँगको छलफलपछि ओलीले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा भने ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री र ओलीबीच सरकारका नीति कार्यक्रम र सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

त्यस्तै, बिहीबार सत्ता साझेदार बालुवाटारमा दलका शीर्ष नेताहरूबीचको बैठक बस्ने पनि मल्लले जानकारी दिए । उनका अनुसार मन्त्रालय भागबन्डा र प्रदेश सरकारको नेतृत्वको विषयमा औपचारिकरूपमा गठबन्धनका नेताहरूबीच भोलि छलफल हुनेछ ।

ओलीसँग कुराकानी गर्नुअघि प्रचण्डले आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए । भेटमा सरकारलार्य समर्थन र सहभागिताका विषयमा कुराकानी भएको मल्लले बताए ।

प्रचण्ड–नेपालबीच सकारात्मक छलफल भएको उनको भनाइ छ ।