काठमाडौं, ११ पुस । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् ।

सोमबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथप्रहण गरेसँगै मन्त्री लामिछानेले मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै नवनियुक्त उपप्रधान तथा गृहमन्त्री लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उनको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।