ट्राफिक जाममा पर्दा ढिलागरी शपथमा पुगिन् मन्त्री ज्वाला साह

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी ज्वालाकुमारी साह ढिला गरी शपथमा पुगेकी थिइन् ।
बिना विभागीय मन्त्री बनेकी उनी राजधानीको ट्राफिक जाममा परेका कारण ढिलागरी शपथमा पुगेकी थिइन् ।
प्रधानमन्त्री प्रचण्डसहित नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएपछि मात्रै उनी शीतल निवास पुगेकी थिइन् । ढिलागरी पुगेकी उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य मन्त्रीहरूले शपथ लिएपछि एक्लै शपथ गराएकी थिइन् ।
शीतल निवास स्रोतका अनुसार चर्को जामका कारण उनी निर्धारित समयमा शीतल निवास पुग्न नसकेकी हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार नै ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
उपप्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेकपा एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ रहेका छन् । लामिछानेले गृह, पौडेलले अर्थ र श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन् ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


