काठमाडौं, ११ पुस । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ ।

संसद भवनमा सोमबार बसेको सत्ता साझेदार सात दलका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति गरेको हो ।

सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको जनमतका अध्यक्ष सीके राउतले बताए ।

उनले भने, ‘हामीले उद्योग मन्त्रालय पाएका छौं, हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ ।’

प्रतिनिधिसभामा ६ जना सांसद रहेको जनमत पार्टीमा सीके राउत आफैं सरकारमा जानुपर्ने मत थियो । यद्यपि, उनले अहिले आफू सरकारमा नजाने बताएका छन् ।