एजेन्सी, १० पुस । अत्यधिक चिसोका कारण अमेरिका र क्यानडामा करोडौं मानिस स्वास्थ्य जोखिमको सामना गरिरहेका छन् ।

लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला अमेरिका भित्रिने र बाहिरिने २ हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ ।

अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न संकटकालीन कदमहरू चालिएको छ । चिसोका कारण कम्तीमा १८ जनाले मृत्यु भएको छ ।

अमेरिकाको बफेलोमा तीन, ओहायोमा पाँच, मिसौरीमा एक चालकसहित चार, भर्मोन्टमा एकसहित अमेरिकाभरी १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने करिब १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौं उडान रद्द भएका छन् ।

चिसो आगामी हप्तासम्म कायम राख्ने पूवानुमान मौसमविद्हरूले गरेका छन् । खराब मौसमले मानिसहरूको व्यवस्थित क्रिसमस योजनालाई बिथोलेको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले गत शुक्रबार गरेको मौसमसम्बन्धी पूर्वानुमानअनुसार यो वर्ष अमेरिकामा लामो समयसम्म अत्यधिक चिसो रहने बताएको छ ।