काठमाडौं, १० पुस । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीमा नियुक्ति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार शपथ गराउने तयारी गरेको छ ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ति भएसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका थिए ।

प्रचण्डलाई एमालेसहित ७ राजनीतिक दल र ३ जना स्वतन्त्र निर्वाचित सांसदसहित १६९ सांसदको समर्थन रहेको छ ।

संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् ।

त्यस्तै स्वतन्त्र निर्वाचित सांसदहरु प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह पनि शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका थिए ।