काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको बताएका छन् ।

शनिबार एमालेको प्यूठान–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेका कारण प्रचण्डको सम्भावना सकिएको दाबी गरेका हुन् ।

देश घुमिफिरी मध्यावधितिर जाने सम्भावना रहेकोसमेत ओलीले बताए । ओलीले स्वार्थको टकरावले सरकार गठन नै हुन नसकेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न चाहेको, तर समयमा कदम नचालेका कारण उनको सम्भावना समाप्त भएको ओलीको भनाइ थियो ।

उनले भने, ‘अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफू–आफूलाई हेरे भने देश फेरि घुमीफिरीकन मध्यावधितिर जाने सम्भावना छँदै छ । जाँदैन भन्न सकिँदैन ।’

नेकपा एमालेसँग मात्रै दलगत स्वार्थ नभएको दाबी गर्दै उनले एमाले सत्ता पक्ष वा प्रतिपक्ष जहाँ रहे पनि देश र जनताको पक्षमा प्रभावकारी भूमिका खेल्ने बताए ।