एजेन्सी, ८ पुस । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतंककारी संगठनका १०३ जना लडाकू मारिएका छन् ।

त्यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि १०३ जना अतिवादी मारिएको बताएका हुन् ।

ती अधिकारीकाअनुसार गएका तीन हप्तायता भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका हुन् । नाइजेरियामा केही वर्षदेखि हत्या तथा आतंक जारी नै राखेका बोको हरामका लडाकूले पछिल्लो समयमा यहाँका सैनिक तथा प्रहरी पोष्ट एवं सुरक्षा अधिकारीमाथि नै हमला गर्ने गरेका छन् ।

यस क्रममा यहाँको सेनाले नाइजेरियाको उत्तरी क्षेत्रमा बोको हरामका विरुद्धमा सशक्त कारबाही अघि बढाएको छ । ती क्षेत्रमा व्यक्तिगत सम्पत्ति नष्ट गर्नुका साथै सरकारी निकायका कार्यालयहरुमा पनि उनीहरूले आगजनी गर्ने गरेका समाचारका आधारमा सेनाले सो कारबाही अघि बढाएको हो ।

नाइजेरियाको राष्ट्रिय सेनाका प्रवक्ता मुसा दनमद्नीले सो कुराको जानकारी दिएका हुन् । उनले नाइजेरियाको उत्तरी क्षेत्रमा यहाँका बोको हराम र इस्लामिक स्टेटका विरुद्धमा यहाँको सेनाले कारबाही थालेको छ ।