जनकपुरधाम, ७ पुस । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतले शपथ ग्रहण गरेसँगै काममा खटेका छन् ।

प्रतिनिधिसभा सदस्यको रूपमा शपथ ग्रहण गरेपश्चात् राउतले ५ वटा कुराका लागि पहल गर्न औपचारिक पत्र काटेका हुन् ।

उनले सप्तरीमा साक्षरता कार्यक्रम संचालन गर्न, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको सुधार, राजविराजमा हवाई उडान बढाउन र नियमित गर्न, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई प्रभावकारी तरीकाले सुचारू गर्न र किसानको लागि थप मलखाद उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरेका छन् ।

राउतको सचिवालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीलाई पत्र लेख्दै सप्तरी जिल्लाको साक्षरता दर करीब ५५ प्रतिशतमात्र रहेको र हालसम्म पनि सो जिल्ला साक्षरसमेत घोषणा हुन नसकेकोले सो जिल्लालाई साक्षर जिल्ला बनाउन के– कस्ता स्रोत, साधन र कार्यक्रमहरू संचालित तथा उपलब्ध छन् भन्ने कुराको जानकारी गराउनुका साथै सो जिल्लामा सघन रूपमा साक्षरता अभियान सञ्चालन गर्न सम्बन्धित पक्षहरूसँग अनुरोध गरिएको छ ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पनि पत्राचार गर्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको स्वास्थ्य सेवा दयनीय रहेकोले सो अस्पतालमा सामान्य खालका विरामीहरूको समेत उपचार हुन नसकी मूल रूपमा “रेफरल सेन्टरको रूपमा परिणत भएको तथा नेपाल सरकारद्वारा निःशुल्क रूपमा वितरित औषधीहरू समेत उपचार गर्न आउने विरामीले पाउने नगरेको गुनासो जनताले पटक–पटक गरेको हुँदा सो सम्बन्धमा आवश्यक गम्भीर छानबिन गरी अस्पतालको स्वास्थ्य सेवामा सुधार गर्न अनुरोध गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै हाल काठमाडौं–राजबिराज उडान दिनको एउटा मात्रै रहेको र त्यो पनि प्रायः समयमै नियमित नहुने गरेकोले सप्तरी र आसपास जिल्लाका बासिन्दाहरू प्रभावित भई असुविधा खेप्नु परेकोले आवश्यक प्राविधिक तयारी गरी काठमाडौं–राजविराज हवाई उडान कम्तीमा दिनको दुई पटक गर्न र उडानलाई प्राथमिकतामा राखेर समयमै नियमित रूपमा सञ्चालन गर्न हुन सम्वन्धित सबै पक्षलाई अनुरोध गरिएको छ ।

राउतले उद्योग तथा वाणिज्य मन्त्रालयलाई पनि पत्र लेख्दै सप्तरी जिल्लामा सञ्चालित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योगहरू योजना र क्षमताअनुसार स्थापित र सञ्चालित हुन नसकेकोले के कारणले सो भएको हो र त्यसलाई पूर्ण रूपसे सञ्चालन गर्न के गर्नुपर्ने हो आवश्यक पहल गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि माग गरिएको छ ।

त्यस्तै, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई पत्राचार गर्दै राउतले सप्तरी जिल्लामा वार्षिक २३ हजार ८५७ मेट्रिक टन युरिया, १२ हजार ७८४ मेट्रिक टन डि.ए.पी. र ९ हजार २४ मेट्रिक टन पोटास आवश्यक रहेको व्योहोरा कृषि ज्ञान केन्द्र राजविराजबाट जानकारी हुन आएपनि सोको अनुपातमा निकै कम मलखाद जिल्लालाई उपलब्ध गराइएकोले त्यहाँको खेती प्रभावित भई किसानहरू निकै प्रताडित रहेको हुँदा आवश्यकता र आपूर्ती अनुसार थप मलखाद उपलब्ध गराइदिनसमेत माग गरेका छन् ।

जनमत पार्टीले सडक, सदन र सरकार तीनवटै मोर्चाबाट संघर्ष जारी राख्ने राउतको सचिवालयले जनाएको छ ।