काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका २७५ सांसदमध्ये बिहीबार २७० सांसदले मात्र शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले यसअघि बुधबार राष्ट्रपतिबाट शपथ लिएका थिए । बिहीबार उनले अन्य सांसदलाई शपथ गराएका हुन् ।

सांसदहरू महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई बिहीबार शपथ ग्रहण कार्यक्रममा अनुपस्थित थिए । यादवले उमेरसम्बन्धी प्राविधिक कारणबाट शपथ लिन नपाएका हुन् । उनको उमेर नागरिकताअनुसार ८७ वर्ष छ ।

त्यस्तै सांसद आले मातृशोकमा रहेका कारण शपथग्रहणमा छुटेका हुन् । अर्की सांसद माया राई सुत्केरी भई अस्पतालमा रहेका कारण सांसदको शपथ लिन पाइनन् । सांसद रामकुमार राई खोटाङबाट हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नपाएको संसद् सचिवालयले जनाएको छ ।

सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान मात्रै पद तथा गोपनीयताको शपथ लिने भएका छन् । संघीय संसद् सचिवालयले उनलाई भोलि मात्र शपथ गराउने तयारी गरेको छ ।