काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको सांसद सुदन किरातीले जानकारी दिए ।

त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो ।

यस्तै दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन् । तर, दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने प्रचण्डले बैठकमा बताएका छन् । सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने बताइएको छ ।

यसैबीच माओवादी केन्द्रबाट राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता, सचेतक र उपनेता चयन गरेको हो ।

बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।