काठमाडौं, ७ पुस । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । त्यसको लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालका अनुसार कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणको क्रममा रहेको छ ।

सरकारले २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना यसअघि बनाएको थियो । सरकारको यही योजनाको आधारमा नयाँ पाठ्यक्रम लागू गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अर्यालले बताए ।

कक्षा ८ र १० को अनिवार्य विषयअन्तर्गत अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषय तथा कक्षा ५ को अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयको पाठ्यक्रम नयाँ हुनेछ ।