जनकपुरधाम, ६ पुस । संयूक्त शिक्षक संस्थाहरूले धनुषाका सामुदायिक विद्यालयहरू पुस ८ गते बन्द गर्ने निर्णय गरेको छ ।

संयुक्त शिक्षक संस्थाहरूको अध्यक्षमध्ये नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष राम सिनेही यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले पुस ८ गते शुक्रबार सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो ।

नगराइन नगरपालिकाले शिक्षक कर्मचारीहरूको तलव भत्ता साउनदेखि हालसम्म उपलब्ध नगराएकोले पुस १८ गतेदेखि चलिरहेको धर्ना कार्यक्रम हालसम्म चलिरहेको र सो पालिकाले तलब भत्ता दिन कुनै पहल नगरेकाले यस्तो निर्णय गरिएको छ ।

शिक्षाको अधिकार स्थानिय तहमै रहेपनि शिक्षक कर्मचारीहरूलाई समय–समयमा तलव भत्ता खुवाउन नसक्दा शैक्षिक गुणस्तर दिन प्रतिदिन खस्कदै गईरहेकोले अब बन्ने सरकारबाट यी अधिकारहरू निकासा हुने गरि अगाडी बढाउन आग्रह गर्ने निर्णय पनि संयूक्त शिक्षक संस्थाहरूले गरेको हो ।

यस जिल्ला अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका र कमला नगरपालिकाका शिक्षक संस्थाहरूसँग सहकार्य गरी पुस १५ गतेभित्र शिक्षक कर्मचारीहरूको तलब भत्ता दिने सहमति भए बमोजिम त्यस ठाउँको पहिलो चरणको संयुक्त आन्दोलन स्थगित भएको थियो ।