जनकपुरधाम, ६ पुस । मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य सारदा शंकर प्रसाद कलवारले शपथ ग्रहण गराउने भएका छन् ।

संसद सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्था अनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताएका हुन् ।

सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशंकर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई शपथ ग्रहण गराएपछि मात्रै उनले अन्य प्रदेशसभा सदस्यहरूलाई शपथ गराउनुपर्ने हुन्छ ।

उनले भने, ‘सर्वप्रथम ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखज्यूसँग शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई हामी सूचना गर्नेछौँ । कानुनी प्रावधान निर्वाचन ऐनमा व्यवस्था भएअनुसार उपस्थित सांसदहरूमध्ये ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने भन्ने भएकाले कलवारमार्फत् उहाँहरूलाई सपथग्रहण गराउने कार्यक्रम अगाडि बढाइने छ ।’

सचिव रञ्जित यादवले ज्येष्ठताका आधारमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्द बहादुर न्यौपानेले शपथ गराउने तय भएपनि न्यौपाने अस्वस्थ रहेकोले सारदा शंकर कलवारले सांसदहरुको शपथ गराउने तयारी भएको बताए । न्यौपानेको उमेर ७१ वर्ष छ भने सारदा शंकरको उमेर ७० वर्ष रहेको छ ।

न्यौपाने नआउने भएपछि बारा २ को (१) बाट स्वतन्त्र निर्वाचित कलवारबाट नै ज्येष्ठ सदस्यको रुपमा सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको संसद सचिवालयले स्पष्ट पारेको छ ।

प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे अहिलेसम्म समय निश्चित नभएको उनले बताए । सचिवालयले अगामी आइतवार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने उनले जानकारी दिए ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ जना र समानुपातिकतर्फ ४३ जना गरी १०७ जना सांसदहरु निर्वाचित भएका छन् । उनीहरूलाई शपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संसद सचिवालयले जनाएको छ ।

यस्तो छ मधेस प्रदेशसभाको अंकगणित

प्रदेशसभाको पहिलो कार्यकालको तुलनामा यस पटक दलहरूको अंकगणितमा फेरबदल भएको छ । यस पटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व छ ।

यसअघिको कार्यकालमा जसपा पहिलो, नेपाली कांग्रेस दोस्रो, लोसपा तेस्रो, नेकपा एकीकृत समाजवादी पार्टी चौथो, नेकपा एमाले र नेकपा माओवादी पाँचौ दलको रुपमा थियो ।

२०७४ को निर्वाचनमा सबैभन्दा ठुलो दलको रूपमा रहेको जसपाको ३७, नेपाली कांग्रेसको १९, लोसपाको १६, नेकपा एकीकृत समाजवादीको १३, नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीको एकजना सांसद थिए ।
२०७४ को निर्वाचनमा ६ वटा दलको प्रतिनिधित्व हुँदा पछि एमाले विभाजन भएपछि ७ दलको प्रतिनिधित्व रहेको थियो ।

२०७९ को निर्वाचनमा मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ । यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौं दल बनेको छ ।

मधेस प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् भने यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचित भएका छन् ।