प्रजातान्त्रिक आन्दोलनका निष्ठावान व्यक्तित्व मिश्रको ५५औं पुण्यतिथि मनाइयो

बरुणा कर्ण/ जनकपुरधाम, ६ पुस । विसं २०१५ सालमा प्रथम निर्वाचित सरकारका उद्योगमन्त्री नेपाली काँग्रेसका नेता रामनारायण मिश्रको ५५औं पुण्यतिथि मनाइएको छ ।
स्वर्गीय मिश्रको पुण्यतिथिको अवसरमा उनलाई स्मरण गर्नुका साथै उनको योगदानको चर्चा परिचर्चा गरिएको हो ।

रामनारायण मिश्र स्मारक समितिले आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै वक्ताहरुले स्व. मिश्रसहितका नेताले देखाएको मार्गमा हिंड्न नसकेकोले आज कांग्रेस पछाडि परेको धारणा राखे ।
स्व. मिश्र विपी कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री हुँदा जनकपुरधाम चुरोट कारखाना स्थापना गरि यस क्षेत्रको आर्थिक अवस्था र समाजिक रुपान्तरणमा अहम योगदान पुर्याएका थिए ।

कार्यक्रममा स्वर्गीय मिश्रका पुत्र तथा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले स्व. मिश्रको स्मारक निर्माणमा भइरहेको ढिलाईप्रति असन्तुष्टी व्यक्त गरेका थिए ।
स्वर्गीय मिश्र २०१५ सालमा पहिलो जननिर्वाचित बीपी कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । २०१७ साल पुस १ गते बहुदलीय संसदीय व्यवस्था खोसेका तत्कालीन राजा महेन्द्रले मिश्रलाई लामो समयसम्म जेलमा राखेका थिए । मिश्रको २०२७ साल पुस ६ गते निधन भएको थियो । मिश्र प्रजातान्त्रिक आन्दोलनका निष्ठावान व्यक्तिका रूपमा मानिन्छन् ।

श्रद्धाञ्जलीसभामा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलगायत नेपाली कांग्रेसका नेताहरुको उपस्थिति रहेको थियो ।
तस्बिरहरु : सोनु निधि
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


