जसपाले शपथग्रहण पछि संसदीय दलको नेता चयन गर्ने

काठमाडौं, ६ पुस । जनता समाजवादी पार्टी नेपालले शपथग्रहण पछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ ।
जसपाका प्रवक्ता मनिष सुमनका अनुसार पार्टीभित्र संसदीय दलको नेतालगायत अन्य विषयको बारेमा पार्टीमा आन्तरिक गृहकार्य सुरु भएको छ । संघीय सांसदको शपथग्रहण पछि संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपनि अब संसदीय दलको नेता को हुने भन्नेमा अन्योल देखिएको छ । अध्यक्ष उपेन्द्र यादव सांसदका रुपमा निर्वाचित भएको अवस्थामा उनी नै संसदीय दलको नेता बन्ने निश्चितजस्तै थियो तर उनी संसदमा प्रतिनिधित्व गर्न असफल भएपछि संसदीय दलको नेता बन्न होडबाजी देखिएको छ ।
वरिष्ठतमको आधारमा अशोक राईलाई संसदीय दलको नेता बनाउने चर्चा पनि पार्टीभित्र चलिरहेको छ । तर जसपाको संगठन मधेसमा रहेको र मधेसबाटै बढी सांसद जितेका कारण मधेसी समुदायबाटै नेता चयन गर्नुपर्ने तर्क पनि प्रकाशमा आइरहेको छ ।
जसपा राष्ट्रिय पार्टी भए पनि यसको आधार मधेस नै हो, अहिलेको चुनावमा प्रतिनिनिधिसभातर्फ सबभन्दा बढी मधेस प्रदेशबाटै जितेर आएका कारण मधेसी समुदायबाटै संसदीय दलको नेता चयन हुनुपर्ने दाबी पार्टीभित्र भइरहेको छ । प्रतिनिधि सभामा जितेका ७ मध्ये मधेसबाट ५ जनाको प्रतिनिधित्व छ ।
राजकिशोर यादव, रामसहाय यादव, नवलकिशोर साहले संसदीय दलको नेतामा दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


