काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नआएको बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘स्वाभाविक रूपमा मेरो लागि यो अपेक्षाकृत होइन । मैले त योभन्दा राम्रो हुन्छ भन्ने सोचेको थिए/अपेक्षा गरेको थिए,’ थापाले भने, ‘तर, यसबाट म थाक्दा पनि थाक्दैन, यसबाट म निराश पनि हुन्न । अरू थप मिहिनेत गर्छु, अरू थप लाग्छु । नेपाली कांग्रेसको संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो एजेन्डा किन थियो? के कारणले थियो? भन्ने कुरा निरन्तर साथीहरू माझ लगिरहनेछु ।’

उनले आगामी दिनमा आफू संसदीय दलको नेताका लागि कोसिस जारी राख्ने पनि बताए । थापाले आफू महामन्त्रीको रूपमा रहेर काम गर्ने तर तत्काल सरकारमा मन्त्री नबन्ने पनि बताए ।

कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।