कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनी महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले हराउँदै दलको नेतामा विजयी भएका हुन् ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मतमात्र पाए । निर्वाचनमा देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापतिपूर्णबहादुर खड्का रहेका थिए ।
थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला रहँदा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले समर्थन गरेका थिए ।
देउवा २०७४ को निर्वाचनपछि भएको संसदीय दलको नेताको चुनावमा पनि विजयी भएका थिए । कांग्रेसमा संसदीय दल र पार्टी सभापति पदमा स्वस्थ प्रतिस्पर्धा गर्ने परम्परा रहेको छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको थियो । कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्त्वपूर्ण मानिन्छ ।
कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


