जनकपुरधाम, ५ पुस । जनमत पार्टीका अध्यक्ष एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. सिके राउतले विगतदेखि नै उठाउँदै आएको शिक्षा, स्वास्थ्य, रोजगारी र किसानको मुद्दा आफ्नो पार्टीको मुख्य मुद्दा रहेको बताएका छन् ।

मंगलबार जनकपुरधामस्थित रामानन्द युवा क्लवको ३७औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै राउतले शिक्षा, स्वास्थ्य, रोजगारी र किसानको हकमा १० प्रतिशत मात्र काम गर्न सके आफ्नो सफलता बुझ्ने बताएका हुन् ।

जनकपुरधामलाई राजर्षि जनक र याज्ञवल्क्यको भूमि भनेर शानका साथ भनिने गरेपनि यहाँको शिक्षा र बौद्विकताको स्तर कहाँ छ ? भन्ने मापन किन कसैले गम्भिरतापूर्वक गरिरहेका छैनन् भन्ने उनको प्रश्न थियो ।

‘सबै दिन आफूलाई ज्ञानभूमिको मान्छे भनेर मात्र हुँदैन,’ उनले भने, ‘ज्ञानको स्तर कति र किन यस्तो भन्ने कुरा पत्ता लगाएर काम गर्नुपर्छ ।’

अर्को प्रसङ्गमा अध्यक्ष राउतले रामानन्द युवा क्लबले यस क्षेत्रको भाषा, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको सराहना गर्दै सामाजिक परिवर्तनको क्षेत्रमा थप काम गर्न आवश्यक भएको बताए ।