सप्तरी, ५ पुस । सप्तरीको रुपनी गाउँपालिकामा मंगलबार बिहान टिपरको ठक्करबाट विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका वडा नम्बर–१ बस्ने शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारी यादव रहेको प्रहरीले जनाएको छ ।रितालाई विद्यालय जाने क्रममा ना.१ क. ८५४२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

कक्षा ६ मा अध्ययनरत यादवको मृत्युपछि आफन्त र स्थानीयबासिले सडक अवरुद्ध गरेका छन् ।

ठक्करबाट सामान्य घाइते भएकी रितालाई टिपर चालकले ब्याक गरेर किचेको भन्दै स्थानीयबासि आक्रोशित भएका हुन् । ठक्कर दिने टिपरलाई चालकले नजिकै रहेको इलाका प्रहरी कार्यालय रुपनी प्रांगणमा लगेको थियो । आक्रोशित भिडले घाइते बालिकालाई कुल्चेर चालकले मारेको भन्दै प्रहरी कार्यालयभित्र प्रवेश गरेर टिपर र कार्यालय तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

तोडफोडबाट प्रहरी कार्यालयमा ढोकासहितका फर्निचर सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दासहितको आक्रोशित भिडले पूर्व–पश्चिम सडकको रुपनी खण्डमा टायर बालेर प्रदर्शन गरिरहेको छ । प्रहरी कार्यालयमा भएको तोडफोड नियन्त्रण गर्न प्रहरीले ८ राउण्ड अश्रुग्यास र १० राउण्ड हवाई फायर गरेको छ ।

यता घटनालाई नियन्त्रणमा लिन र स्थिति साम्य बनाउन सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।