काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनको विकल्प नखोज्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

सत्ताको आकांक्षामा अर्को गठबन्धनको खोजी गर्न नमिल्ने भन्दै उनले जनताको मर्मविरुद्ध जान नहुने बताएका हुन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताए ।

उनले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा सञ्चारमाध्यममा आए पनि नेपाली काँग्रेसले शंकाको रुपमा नहेरेको बताए । उनले माओवादी केन्द्रले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने बताए ।

महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पारे ।