जनकपुरधाम, ३ पुस । धनुषामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ ढल्केवरमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मिथिला बिहारी नगरपालिका–१ भुतहीपटेर्वाका अन्दाजी ६० वर्षीय चन्द्रदीप यादवको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले पूर्वतर्फ जाँदै गरेको ना ६ ख ८४२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एकजनाको जनकपुरधामस्थित काव्य हस्पिटलको सघन कक्षमा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।

मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।