सरकार गठनको प्रक्रिया अगाडि बढाउने राष्ट्रपति कार्यालयको तयारी सुरू

काठमाडौं, २९ मंसिर । राष्ट्रपति कार्यालयले सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी सुरू गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुझाएलगत्तै सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको हो ।
आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार मात्रै निर्वाचन परिणामको प्रतिवेदन बुझाएको छ । सोलगत्तै राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेकी हुन् ।
संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी प्रावधान छ ।यसपटक कुनै पनि दलले बहुमत नपाएको हुनाले ७६ (१) अनुसार सरकार गठन हुन सक्ने परिस्थिति छैन ।
राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार बढीमा एक साताभित्र संविधानको धारा ७६ उपधारा (२) अन्तर्गत सरकार निर्माणका लागि आह्वान हुनेछ ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले भने संसदीय दलको नेता चयनसम्म कुर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । देउवाले संसदीय दलको नेता निर्वाचित भएपछि मात्रै सरकार गठनको प्रक्रिया शुरू हुनुपर्ने प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।
राष्ट्रपति कार्यालयले भने संसदीय दलको नेता चयन गरेर सरकार निर्माणका लागि आह्वान गर्दा ढिला हुने भएकाले त्यसअघि नै आह्वान हुनसक्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


