काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ । जापानले ’ग्राण्ड कोर्डन दी अर्डर अफ दी राइजिङ सन’ विभूषणबाट पौडेललाई सम्मान गरेको हो ।

पूर्वसभामुखसमेत रहेका पौडेललाई तत्कालीन सभामुखका रूपमा गरेको योगदानका लागि सो सम्मान दिइएको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार पौडेललाई उक्त विभूषण हस्तान्तरण गरेका हुन् ।

काठमाडौंस्थित जापानी राजदूतको निवासमा आयोजित एक कार्यक्रममा पौडेललाई उक्त सम्मानबाट सम्मानित गरिएको पौडेलको सचिवालयले जनाएको छ । कार्यक्रममा कांग्रेस सांसद राजेन्द्र बजगाईंलगायत केही सांसद पनि सहभागी थिए ।

यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ । विदेशी नागरिकलाई दिइने यो सम्मान जापानका सम्राट मेइजीले सन् १८७५ मा स्थापना गरेका थिए ।