काठमाडौं, २९ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि दबाब दिन आन्दोलनको घोषणा गरेको छ ।

नेकपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

पुस १ गतेदेखि ५ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको उक्त पार्टीले पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सहरसम्म विरोध प्रदर्शनको आयोजना गरेको छ ।

पुस २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य सहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने सो पार्टीले जनाएको छ ।

नेकपाद्वारा जारी विज्ञप्तिमा आन्दोलनको अन्तिम दिन पुस ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिने समेत जनाइएको छ ।