धनुषामा सवारी दुर्घटनामा परी २४ वर्षीय अमरेन्द्रको मृत्यु

जनकपुरधाम, २९ मंसिर । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहका अनुसार सवारी दुर्घटनामा महोत्तरीको भङ्गाहा नगरपालिका–४ बस्ने २४ वर्षीय अमरेन्द्र महतोको मृत्यु भएको हो ।
बुधबार राति १० बजे पूर्वबाट काठमाडौंतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसमा प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । बसमा ठक्कर खाएको मोटरसाइकल अनियन्त्रित भएर काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत ठोक्किन पुगेपछि मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए ।
घाइते महतोको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । दुर्घटनासँग जोडिएका बस, हाइस र मोटरसाइकल प्रहरी नियन्त्रणमा राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


