काठमाडौं, २८ मंसिर । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा झण्डै ८० लाख जनता मतदानमा अनुपस्थित रहेको पाइएको छ ।

निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।

जसमध्ये यसपटक प्रतिनिधिसभा निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नै भएनन् ।

कूल मतदाता संख्याको ६१ दशमलव ४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् । ३८ दशमलव ५९ प्रतिशत मतदाताले निर्वाचनमा भाग नलिएको आयोगको तथ्यांकले देखाएको छ ।

यसपटक १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भने १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदाता सहभागी भएका आयोगको तथ्यांकमा उल्लेख छ ।