‘मधेस प्रदेशमा महिलाको ५२ प्रतिशत मत निर्णायक बन्दा प्रतिनिधित्व भने ३३ प्रतिशत मात्रै हुनु दुःखद’

जनकपुरधाम, २७ मंसिर । गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनबाट मधेस प्रदेशमा प्रत्यक्षतर्फका ६३ सांसद चुनिए । निर्वाचित ६३ जनामध्ये महिलाको संख्या जम्मा ४ मात्रै रह्यो ।
प्रदेशसभामा प्रत्यक्षतर्फ महोत्तरी १ (क) बाट नेकपा एमालेकी शारदा थापा, महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह, महोत्तरी ३ (ख) बाट लोसपाकी रानी कुमारी तिवारी र सर्लाही १ (ख) बाट नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली मात्रै निर्वाचित महिला सांसद हुन् ।
प्रदेशका ८ जिल्लामध्ये महोत्तरी र सर्लाहीबाहेक अन्य ६ जिल्लाबाट प्रदेशसभामा प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रह्यो ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन समानुपातिक कोटाबाटै महिला सांसद चयन भए ।प्रत्यक्षतर्फका ६३ र समानुपातिकतर्फका ४३ गरी कुल १०७ सांसद चुनिएको यस प्रदेशमा समानुपातिकबाटै महिला सहभागिता करिव ३७ प्रतिशत पुर्याइएको छ । मधेस प्रदेशसभामा ३९ महिला सांसद चुनिएका छन् । प्रत्यक्षबाट ४ महिला मात्रै निर्वाचित रहेको यस प्रदेशमा समानुपातिकतर्फ थप ३५ महिला सांसद चुनिएका छन् ।
यस प्रदेशमा ५२ प्रतिशत महिलाहरूको मत निर्णायक बन्दा पनि महिलाको प्रतिनिधित्व भने ३३ प्रतिशत मात्र हुनु र त्यो पनि समानुपातिक कोटाबाट पूर्ति गर्नु सुहाउँदो कुरा नरहेको महोत्तरी २ (ख) बाट स्वतन्त्र निर्वाचित सुरिता साहले भनिन् ।
५० प्रतिशत प्रतिनिधित्वको माग गर्दै आवाज उठाइरहेको भए पनि ३३ प्रतिशतसमेत कार्यान्वयन नहुनु दुःखद रहेको उनले बताइन् ।
उनले भनिन्, ‘ठूलो लडाइँबाट ३३ प्रतिशत प्रतिनिधित्वको अधिकार ल्यायौँ, तर प्रत्यक्षतर्फ नै महिलाहरूको ३३ प्रतिशत खोई ? यता, हामीहरू ५० प्रतिशत महिला अधिकारको कुरा गर्दैछौँ ।’
उनले महिलाको सहभागिताको सवालमा सबभन्दा ठूलो दोषि राजनीतिक दलहरू रहेको जिकिरसमेत गरिन् । प्रदेशसभाबाट यसको कार्यान्वयनका लागि आफूले दबाबमूलक कार्य थालनी गर्नेसमेत योजना रहेको साहले बताइन् ।
सर्लाही १ (ख) बाट निर्वाचित नेकपा एकीकृत समाजवादीकी बेची लुंगेलीले मधेस प्रदेशमा प्रमुख राजनीतिक दलहरूले पनि प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदवार बनाउने सम्बन्धमा उपेक्षा गरेको आरोप लगाइन् ।
उनले महिलाहरूलाई पनि प्रत्यक्ष निर्वाचन लड्न आँट र साहस गर्नुपर्ने आवश्यकता रहेको समेत बताइन् ।
प्रतिनिधिसभामा पनि महिलालाई उपेक्षा
मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि पनि राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन आनाकानी गरेको पछिल्लो नतिजाले स्पष्ट हुन्छ । यस प्रदेशको ३२ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले दुई र नेपाली कांग्रेसले एक क्षेत्रबाहेक अन्य क्षेत्रमा महिला उम्मेदवार नै उठाएन भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपालगायतका अन्य दलहरूले महिलालाई भने कुनै अवसर नै प्रदान गरेन ।
यस प्रदेशमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी जुलीकुमारी महतो र ज्वालाकुमारी साहबाहेक अन्य कुनैपनि महिला उम्मेदवारले जित हासिल गर्न सकिनन् । धनुषा–३ मा जुलीले लोसपाका अनिल कुमार झालाई हराउँदा बारा–३ मा ज्वालाले जसपाका रामबाबु कुमार यादवलाई पराजित गरिन् ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सप्तरीबाट कूल ७० जनाको उम्मेदवारी पर्दा महिलाको संख्या ५ मात्र थियो भने सिरहाबाट कूल ८७ जनाले उम्मेदवारी दिँदा महिलाको संख्या ७ थियो ।
उता, धनुषाबाट कूल १०१ जनाको उम्मेदवारी पर्दा महिलाको संख्या ६ मात्रै थियो । धनुषाको अन्य क्षेत्रबाट कुनैपनि दलले महिला उम्मेदवार खडा गरेको थिएन । ६ जना सबै क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बनेकी थिइन् ।
महोत्तरीबाट ६७ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवारको संख्या ५ मात्रै थियो भने सर्लाहीको सबै क्षेत्रबाट १÷१ जना गरी ४ जना महिलाले उम्मेदवारी दिएकी थिइन् । त्यहाँबाट जम्मा ६९ जनाले उम्मेदवारी दिएका थिए ।
रौतहटबाट कूल ६७ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवारको संख्या ४ मात्र थियो भने बाराको निर्वाचन क्षेत्र नम्बर–३ बाट मात्र २ जना महिलाको उम्मेदवारी परेको थियो । जबकि जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट कूल ७६ जनाले उम्मेदवारी दिएका थिए ।
पर्साबाट ५३ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवारको संख्या शून्य रहेको थियो ।
यस प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि कूल ३३ जना महिला उम्मेदवारले उम्मेदवारी दिएपनि दुईजना मात्र निर्वाचित भइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


