सप्तरी, २७ मंसिर । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस कृषि विश्वविद्यालयले अध्यापन नै नगराएर एक वर्ष पुरा गरेको छ ।

मधेस सरकारले अध्यादेश मार्फत स्थापना गरेको कृषि विश्वविद्यालयले मंगलबार एक वर्ष पुरा गरेको छ । तर, स्थापनको एक वर्ष पुरा भएपनि सो विश्वविद्यालयले अहिलेसम्म अध्यापन समेत सुरु गर्न सकेको छैन् ।

प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले २०७८ कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए । पछि प्रदेशसभाबाट यसलाई पारित गरिएको थियो ।

त्यसपछि मुख्यमन्त्री लालबाबु राउतले २०७८ मंसिरमै विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेका थिए ।